रवि लामिछानेले दोस्रोपटक गृह मन्त्रालयमा आएपछि कास्की प्रहरीलाई झुटो पत्र लेख्न लगाएको खुलासा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै आफूविरुद्धको मुद्दा प्रभावित पार्न जिल्ला प्रहरी कार्यालय, कास्कीलाई झुटो पत्र लेख्न लगाएको खुलासा भएको छ।

गृहमन्त्री लामिछानेले आफूविरुद्धको रिटको प्रतिवादमा अहिले त्यही पत्र पेस गरेका छन्।आफूविरुद्ध सहकारी ठगीमा अनुसन्धान अगाडि बढाउन माग गरिएको रिट खारेज गर्नुपर्ने जिकिर गर्दै उनले सर्वोच्च अदालतमा पेस गरेको जवाफमा उक्त पत्र समावेश गरेका छन्।


जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताकहाँ पठाएको जवाफी पत्रमा पूरक निवेदन परेको र अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। उसले २०८० माघ १६ गते पूरक जाहेरी परेको स्वीकार गरिएको छ। 

पत्रमा भनिएको छ, ‘सूर्यदर्शन बचत पीडित संघर्ष समितिले पूरक छानबिन तथा अनुसन्धान र छलफल गरी कारबाहीको दायरामा ल्याउनेबारे भनी मिति २०८० माघ १६ गते यस जिल्ला प्रहरी कार्यालय कास्कीमा पेस गरेको निवेदन (पत्र) मा अनुसन्धान भइरहेको छ।’ 

निवेदन परेको स्वीकार गरेको प्रहरी कार्यालयले रवि लामिछानेलाई भने जोगाएको पाइएको छ। सोही पत्रमा अगाडि लेखिएको छ, ‘उक्त निवेदन पत्रमा निज रवि लामिछानेको नाम उल्लेख नभएको र उक्त मुद्दामा अन्य कुनै पनि जाहेरी दरखास्त कसुर दर्ता किताबमा हालसम्म दर्ता नभएको व्यहोरासमेत अनुरोध गरिन्छ।’

हेर्नुहोस् कास्की प्रहरीले २०८१ वैशाख १६ गते सरकारी वकिल कार्यालयलाई लेखेको पत्र-