हडतालअघि स्टिलवर्क बन्द गर्ने टाटाको धम्की

टाटा स्टिल युकेले आगामी हडतालका कारण दक्षिण वेल्सको पोर्ट ट्याल्बोटमा आफ्ना दुई ब्लास्ट फर्नेस बन्द गर्ने धम्की दिएको छ । यसबाट आगामी साता हुन लागेको आम निर्वाचनअघि राजनीतिज्ञहरूबीच चिन्ता बढेको छ । 

भारतीय स्वामित्वको यो विशाल कम्पनीले हरित उत्पादनतर्फ कदम बढाउँदै पहिलो फर्नेस जुनको अन्त्यमा र दोस्रो सेप्टेम्बरसम्ममा बन्द गर्ने योजना बनाएको थियो । यद्यपि टाटाका कर्मचारीहरूले कम्पनीको नोकरी कटौती योजनाको विरोधमा जुलाई ८ देखि अनिश्चितकालीन हडताल सुरु गर्ने युनाइटेड ट्रेड युनियनले एक साताअघि घोषणा गर्यो । 

बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले यसबीच टाटालाई निर्वाचनको परिणामअघि कदम नचाल्न आग्रह गरेको छ । आगामी जुलाई ४ मा हुने आम निर्वाचनमा लेबर पार्टीले सत्ताधारी कन्जरभेटिभ पार्टीलाई पराजित गर्ने व्यापक अपेक्षा गरिएको छ । 

“युनाइट युनियनले जुलाई ८ देखि एकतर्फी हडतालको घोषणा गरेपछि टाटा स्टिल दुर्भाग्यवश युनाइटको मतपत्रको वैधतालाई चुनौती दिनका लागि कानूनी कारवाही सुरु गर्न बाध्य भएको छ”, टाटाका एक प्रवक्ताले शुक्रबार इमेलमार्फत एएफपीलाई भन्नुभयो, “आगामी दिनहरूमा हडताल कारवाहीको अवधिमा हाम्रा सम्पत्तिहरू सुरक्षित र स्थिररूपमा सञ्चालन गर्न सक्षम हुन्छौँ भन्नेबारे हामी निश्चित हुन सक्दैनौँ, हामीसँग पोर्ट ट्याल्बोट साइटमा दुवै ब्लास्ट फर्नेससहित सञ्चालनहरू रोक्नका लागि कुनै विकल्प हुनेछैन ।”

जवाफमा युनाइटले नोकरी सुरक्षित गर्नका लागि लडाइँबाट पछि नहट्ने बताएको छ । “युनाइट अभियान पोर्ट ट्याल्बोट र दक्षिण वेल्सका हजारौँ श्रमिकका लागि यस मुलुकमा स्टिल निर्माणको दीर्घकालीन भविष्य सुरक्षित राख्ने बारे हो”, युनाइटेडका महासचिव शेरोन ग्राहमले भन्नुभयो, “यस विवादलाई सम्हाल्न, बस्न, वार्ता गर्न र सुरक्षित गरिएको लगानी कम्पनी तथा श्रमिकहरूका लागि राम्रो हुनेछ भन्ने महसुस गर्न हामी मुम्बईका वास्तविक निर्णयकर्ताहरूलाई आह्वान गर्दछौँ ।”

जुलाईमा बन्द गर्ने योजना बनाइएको ओभनहरूको प्रयोग कोइलालाई कोकमा परिणत गर्न गरिन्छ, यो स्टिल बनाउने प्रक्रियामा प्रयोग गरिने प्रमुख कच्चा सामग्री हो । टाटाले जनवरीमा युकेको सबैभन्दा ठूलो स्टिलवर्क्स पोर्ट ट्यालबोटमा कोक ओभन र दुई उच्च–उत्सर्जन ब्लास्ट फर्नेसलाई बन्द गर्ने योजना बनाइरहेको खुलासा गरेको थियो । यसबाट दुई हजार आठ सय नोकरी गुम्नेछ । 

यो उलटपलट कम कार्बन–सघन उत्पादनलाई लगानी गर्ने प्रयास गरिरहेको यस युरोपेली स्टिल उद्योगले उथलपुथलको सामना गरेको बेला आएको हो । टाटाले दीर्घकालीन कार्बन उत्सर्जनमा कटौती गर्न विद्युतीय आर्क फर्नेस प्रविधिमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ५८ करोड डलर) लगानी गर्न खोज्दैछ ।