मित्र राष्ट्रहरूसँगबाहेक अन्य देशको सेनामा नेपाली नागरिकलाई भर्ना गर्न नीति नभएको स्पष्ट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मित्र राष्ट्रहरूसँगबाहेक अन्य देशको सेनामा नेपाली नागरिकलाई भर्ना गर्न दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पारेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो विषयमा सरकार गम्भीर भएको दाबी गरे। 

‘नेपाली नागरिकहरू विदेशी सेनामा भर्ती भएकोबारे उठाएको विषयमा सरकार गम्भीर छ। केही मित्र राष्ट्रहरूसँग विगतमा गरेका समझदारी अनुरुप परम्परागत रुपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पार्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने। 
 
साथै, गोरखा भर्ती सन् १९४७ सम्पन्न त्रिपक्षीय सम्झौता बमोजिम भएको उनले बताए। ‘यस सम्झौतालाई समय सापेक्षित तुल्याउन राष्ट्रिय सहमतिको आधारमा बेलायत सरकारसँग छलफल गर्नुपर्ने हुन्छ। यसमा सबैको साथ र सहयोग हुने अपेक्षा गर्दछु,’ उनले भने।