विकिलिक्सका संस्थापक जुलिअन असान्ज बेलायती जेलबाट रिहा

 विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् ।

विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाएको छ । विकिलिक्सका अनुसार बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएका हुन् ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको समाचारमा उल्लेख छ ।

अदालतको पत्र अनुसार उनीअस्ट्रेलिया फर्किनेछन् । ‘जुलियन असान्ज स्वतन्त्र छन्,’ विकिलिक्सले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ। १ हजार ९०१ दिनको कारावास पछि, उहाँ २४ जुनको बिहान बेलमार्श जेलबाट बाहिर निस्कनुभयो। उहाँले लन्डन उच्च अदालतबाट जमानत पाउनुभयो र स्टान्स्टेड एयरपोर्टमा रिहा भएपछि बेलायत छोड्नुभयो ।