दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा १० को मृत्यु

पूर्वी दक्षिण अफ्रिकाको मपुमालाङ्गा प्रान्तमा सोमबार बिहान ट्रक र मिनीबस ट्याक्सी ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन् ।

मपुमलाङ्गा सामुदायिक सुरक्षा विभागका प्रवक्ता मोती मुमुसीका अनुसार मृत्यु हुने आठ जना मिनीबस ट्याक्सीमा र दुई जना ट्रकमा सवार थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ  ।

मिनीबस ट्याक्सी प्रान्तको एमलाहलेनीतर्फ जाँदै गरेको र ट्रक गौतेङ प्रान्तको ब्रोन्खोर्स्टस्प्रुटतर्फ जाँदै गर्दा मपुमलाङ्गा डेल्मास नजिकै आर–४२ सडकमा दुर्घटना भएको हो ।

“दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म थाहा भएको छैन, घटनाबारे अनुसन्धान भइरहेको छ”, प्रवक्ताले भन्नुभयो ।