६० केजी सुनको मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोपमा प्रहरीले दुई जना पक्राउ

 ६० केजी सुन प्रकरणमा मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ६३ वर्षीय कृष्णप्रसाद शर्मा र ४३ वर्षीय झबिन्द्र खत्रीलाई पक्राउ गरेको हो ।

शर्मा र खत्रीले ६० केजी सुन प्रकरणको मुद्दा मिलाइदिने भन्दै प्रहरी कर्मचारीको नाममा ८ लाख ५० हजार रुपैया रकम लिएको प्रहरीको आरोप छ । अर्घाखाँची छत्रदेव गाउँपालिका ५ घर भई हाल काठमाडौँको तार्केश्वर बस्दै आएका शर्मा र रुपन्देहीको तिलोत्तमा नगरपालिका ०१ बस्ने खत्रीलाई सीआइबीको टोलीले शुक्रबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका शर्मा र खत्रीले अन्य प्रहरी कार्यालयहरुमा अनुसन्धानरत रहेका मुद्दाहरु मिलाइदिन्छु भनी कोही कसैलाई ठगी गरेको भए ब्युरोमा जाहेरी दिन समेत अनुरोध गरेको छ । प्रहरीले २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरिएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो ।