अवैध लागूऔषधसहित आठ जना पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ ख१९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमित चौधरी र २० वर्षीय अमृत हलवाई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय राकेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
 

बर्दिया, राजापुर नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित बढैयाताल गाउँपालिका-३ भोलागौडी बस्ने २६ वर्षीय करण सिंह सुनारसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कोठियाघाट र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नेपालगंजदेखि राजापुरतर्फ जाँदै गरेको भे.१ ज ११११ नम्बरको गाडीमा उक्त पदार्थ फेला परी गाडी चालक सुनार समेत दुवै जनालाई पक्राउ गरेको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडि बसपार्कस्थित सडकबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित लहान नगरपालिका-८ बस्ने किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट
नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित सोही नगरपालिका-९ सुन्दरपुर बस्ने २५

वर्षीय सुन्दर कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले कमलदहबाट मटिअर्वातर्फ आउँदै गरेको मधेश प्रदेश- ०२-००७ प ८८७८ नम्बरको मोटरसाइकलको बाँया साईडको इन्डिकेटरमा प्लाष्टिकमा बेरी
राखिएको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक महतोलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।