एकडाराका इञ्जिनियर र सब इञ्जिनियरलाई तीन महिना कैद

२ असार, काठमाडौं

विशेष अदालतले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सब इञ्जिनियर सञ्जय कुमार मण्डललाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उनीहरुलाई जनही तीन महिना कैद र दुई लाख ८८ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो । 

विशेष अदालतले आइतबार गैरकानूनी लाभ लिइ भ्रष्टाचार गरेको एक मुद्दामा उनीहरुका साथै व्यवसायी राकेश कुमार रायलाई पनि सजाय सुनाएको छ । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

यसै वर्ष वैशाख मध्यमा दायर मुद्दामाथि सुनुवाइ गर्दै आंशिक ठहरको फैसला भएको छ । यस मुद्दामा तीन जना दोषी पाइएका छन् भने अन्य तीन जनाले सफाइ पाएका छन् । 

एकडाराको वडा नं. १ मा आर्थिक वर्ष ०७९÷८०  मा स–साना सडक ढलान गर्नका लागि रकम विनियोजन गरिएकोमा गुणस्तरहीन काम गरेर भुक्तानी दिइएको भेटिएको थियो । जसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ वैशाखमा मुद्दा दर्ता गराएको थियो । 

गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा गाउँपालिकाले आठ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको थियो । सम्झौताबमोजिम काम भए नभएकोसमेत अनुगमन नगरिएको अनुसन्धानबाट देखिएको थियो । 

यसै मुद्दाका अर्का प्रतिवादी तथा ठेकेदार राकेश कुमार रायलाई पनि सजाय सुनाइएको छ । उनीबाट  दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने फैसलामा छ । 

यस प्रकरणमा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहले भने सफाइ पाएका छन् । गाउँपालिकाको कार्यालयमा योजना शाखा प्रमुख रहेका महेन्द्र कुमार मण्डलले पनि सफाइ पाएका छन् ।