प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

काठमाडौँ, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । 

भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो । 

प्रधानमन्त्री दाहालले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो । 

त्यसअवसरमा सिपिपिसिसीका उपाध्यक्ष बातेरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो भने चिनियाँतर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।