गायक योगेश्वरको जग्गा धितो राखेर १९ करोड ऋण निकाल्ने २ जना पक्राउ

गायक योगेश्वर आमात्यको जग्गा धितो राखेर १९ करोड ऋण निकालेको प्रकरणमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरका उवीन्द्रराज शाक्य र शोभा शाक्य छन्। उनीहरू दुवै जनालाई लिखतसम्बन्धी कसुरको अनुसन्धान गर्न बिहीबार जावलाखेलबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए।

विल्वा भूमि वन प्रालिको नाममा दर्ता रहेको बारा विश्वम्भुर गाविस वडा नं ४ कित्ता नम्बर १०६९ रहेको १२ विगाह जग्गाका किर्ते कागजातहरू तयार गरी डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा राजीनामा पास गरेको कागजातका आधारमा उनीहरूले कुमारी बैंकबाट ऋण लिएको पाइएको छ। २०७८ साउन ११ गते पारित भएको रजिस्ट्रेसन नम्बर १२०५ रहेको लिखतबाट उक्त जग्गा हक हस्तान्तरण गरेको देखाइएको थियो। 

कुमारी बैंकको न्युरोड शाखामा धितो राखी १९ करोड ऋण लिइएको थियो। यस प्रकरणमा सरकारी वकिलले बैंकिङ कसुरको मुद्दा चलाउन अस्वीकार गरेका थिए।