संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेन्

काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु-याइरहेका छन् ।

बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् ।

फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौं । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइट पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।